५ सय ७० ग्राम लागुजन्य पदार्थ खैरो हिरोईन सहित दुई जना पक्राउ


१२ मंसिर २०७६, बिहीबार १६:१० मा प्रकाशित

झापा । झापामा अहिलेसम्मकै ठूलो परिमाणमा ५ सय ७० ग्राम लागुजन्य पदार्थ खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरिएको छ ।

छुट्टा छुट्टै स्थान र समयमा पक्राउ पर्नेमा गौरादह ३ का ३२ बर्षका सुनिल बराल र भारतको मुरसीदावाद नोतिबोपाश बस्ने बर्ष २७ का टुटुल भन्ने रिन्टु सेख पक्राउ परेका छन् । गौरादह र दमकको एक होटलबाट उनीहरुको साथबाट ५ सय ७० ग्राम खैरो हिरोइन, २ थान मोवाइल, नगद १३ हजार र कार तथा स्कुटर समेत बरामद गरिएको छ । विहीबार इलाका प्रहरी कार्यालय दमकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार हर्लिक्सको बट्टा र शरीरको विभिन्न भागमा लुकाइ छिपाई ओसार पोसार गर्दै गरेको अवस्थामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको बताएका छन् ।

जिल्ला प्रहरी झापाले यस आर्थिक वर्ष मात्र महँगो मुल्य पर्ने खैरो हिरोइनको कारोबार गर्नेलाई जिल्ला विभिन्न स्थानबाट झण्डै १ दर्जन हाराहारीमा पक्राउ गरी कार्वाही प्रकृयामा अगाडि बढाइएको बताइएको छ । सामुदायिक प्रहरी, विद्यार्थी तथा शिक्षकलाई सचेतना कार्यक्रम परिचालन गर्न थाले पछि यस्ता अबान्छनीय कृयाकलापबारे साधारण नागरिकबाट समेत प्रहरीलाई सूचना आउने क्रम बढेकोले पक्राउ कार्यमा सहजता मिलेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेशकुमार मैनालीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here