अल्बानिया । पूर्वी युरोपेली बाल्कन क्षेत्रको मुलुक अल्बानियामा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।
ठूलो संख्यामा जनधनको क्षति भएको र उद्दार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । अल्बानियाको रक्षा मन्त्रालयले बुधबारसम्म भूकम्पका कारण ३५ जनाको मृत्यु भइसकेको जनाएको छ । अझै पनि हराइरहेका व्यक्तिको खोज तथा उद्धारको कार्य जारी रहेको छ । मंगलबार बिहान अल्बानियालाई केन्द्र बनाएर ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पबाट ठूलो संख्यामा घरहरु ढलेका र भग्नावशेषमा मानिसहरु पुरिएका थिए । अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले बुधबार अपराह्न पत्रकार सम्मेलन गरी यस शक्तिशाली भूकम्पबाट मृत्यु भएका व्यक्तिको नाम पढेर सुनाएका थिए । उनले भूकम्पका कारण ६ सय ५७ जना घाइते भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि जानकारी दिए । रक्षामन्त्री झाखाले निकै क्षतिग्रस्तको निरीक्षण गर्न प्राविधिक खटाइने बताउँदै केही दिन शान्त रहन अपिल गरेका थिए ।
अल्बानियामा खोज तथा उद्धारका लागि इटाली र टर्कीका पनि उद्धारकर्मी परिचालन गरिएको छ । अल्बानियाली उद्धार निकायले आफ्ना उद्धारकर्मीहरु चौबिसै घण्टा काममा जुटेको बताएको छ । अल्बानिया सरकारले बुधबार तिराना र डुरेसमा आपतकालीन स्थितिको घोषणा गरेको छ । यी दुई क्षेत्र भूकम्पका कारण सर्वाधिक प्रभावित भएका छन् ।





