काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी एक महिनादेखि सम्पर्कविहिन भएकी छन् ।
उनले आफ्नो राजीनामा बुझाएर मन्त्रालयको सम्पर्क बाहिर गएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । डा चौधरीले गत कात्तिक १३ गते पदबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामा भने मन्त्रिपरिषद्ले अस्वीकृत गर्दै मन्त्रालयमा फिर्ता पठाएको थियो । राजीनामा अस्वीकृत भएको जानकारी ३ मंसिरमा स्वास्थ्य मन्त्रालयमा प्राप्त भएको थियो ।
मन्त्रिपरिषद्ले राजीनामा अस्वीकृत गर्दै यसको जानकारी सचिव डा. चौधरीलाई दिनसमेत मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र पठाए पनि मौखिकरुपमा लिन नसकिएको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताए । १७ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरीको राजीनामा अस्वीकृत गरेको थियो । मन्त्रालयमा दुई सचिव राख्ने व्यवस्था भएपछि सचिव डा. चौधरीलाई सरकारले डेढ वर्षअघि स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो ।
०७५ असोज ८ गते सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय बदर गर्दै सरुवा र रमाना लगायतका पत्रहरु कार्यान्वयन नगर्न अन्तरिम आदेशपछि उनी पदमा बहाल रहेकी थिइन् । मन्त्रालयमा उनको पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी नै छ ।





