अर्घाखाँची । अर्घाखाँची जोड्ने मुख्य सडकको रूपमा स्थापित गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड मंसिर १० गते मंगलबार देखि १० दिन बन्द हुने भएको छ ।
उक्त सडकखण्डको नरपानी देखि घुम्टीसम्मको साघुरा घुम्टीहरु फराकिलो गराउने योजना अनुसार मंसिर १० देखि बिहान ७ बजे देखि ११ बजे सम्म र दिउँसो १ बजे देखि ४ बजे सम्म निरन्तर कम्तिमा १० दिन सडक बन्द हुने सडक डिभिजन कार्यालय शिवपुरले जनाएको छ । सोमबार सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको संयोजकत्वमा बसेको यातायात ब्यवसायीसँगको छलफलले सडक निर्माणको लागि बन्द गर्ने निर्णय भएको हो ।
सडक साघुँरो तथा धेरै घुम्ति भएकोले बढ्दो दुर्घटना न्युनिकरणको लागि सडक चौडा फराकिलो गर्न सडक बन्द गर्नु परेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए । नरपानी देखि घुम्ति सम्मको सडकखण्ड धेरै साघुरा घुम्ति एक तर्फी भएका कारण सवारी साधन दुर्घटना हुदा बर्सेनि दर्जनौं नागरिकको मृत्यु हुने गरेको छ । सयौं जना घाईते भएका छन् । धेरैको अङ्ग भङ्ग भएको छ ।
सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यले साधुरा घुम्ति काट्न सुरू गरिएको बताईएको छ । राती तथा दिउँसो २ घण्टा भने सडक सञ्चालन हुने छ । साना सवारी साधनहरूलाई बैकल्पिक सडक प्रयोग गरि यात्रा गर्न सुझाईएको छ ।





