मेडिकल कलेजले मंगलबार सम्म रकम फिर्ता नगरे सरकारले कारवाही गर्ने


९ मंसिर २०७६, सोमबार १७:५४ मा प्रकाशित

काठमाडौँ । विद्यार्थीहरुबाट तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले मंगलबार सम्म रकम फिर्ता नगरे सरकारले कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ ।

गृहमन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत उपस्थित बैठकले विद्यार्थीबाट बढी असुलेको अतिरिक्त शुल्क भोलिसम्म फिर्ता नगरे कारवाही थाल्ने निर्णय गरेको हो । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार बैठकले उजुरी लिएर कारवाही थाल्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकिएको छ । शर्माले अहिलेसम्म मेडिकल सञ्चालकविरुद्ध कास्कीमा मात्रै उजुरी परेको र अन्य जिल्लामा अभिभावक र विद्यार्थीहरुलाई उजुरी दिन आग्रह गरिसकेको बताए ।

यसअघि गत असोज, कात्तिकमा गृहमन्त्री र शिक्षामन्त्री लगायतका पदाधिकारीसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी रकम फिर्ता वा समायोजन गर्न आग्रह गरेको थियो । त्यसबेला पनि दुई पटक समय दिएर बढी रहम फिर्ता नगरे कारवाही अघि बढाउने अन्तरमन्त्रालय बैठकको निर्णय मेडिकल कलेजका मालिकले बेवास्ता गरेका थिए । पछिल्लो पटक सरकारले दिएको १५ दिनको समयसीमा भोलि सकिदैँछ । यसअघि नै सरकारले बढी शुल्क लिएमा कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here