बैतडीमा १ सय ४९ थान हातहतियार संकलन


९ मंसिर २०७६, सोमबार ११:०९ मा प्रकाशित

बैतडी । बैतडीको विभिन्न स्थानबाट प्रहरीले १ सय ४९ थान हातहतियार संकलन गरेको छ ।

गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा उक्त हातहतियार संकलन गरिएको हो । उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई पनि ध्यानमा राखी हातहतियार संकलन गरिएको प्रहरीले जनाएको छ । बैतडीका ३ वडामा उपनिर्वाचन हुँदैछ । संकलित हतियारमध्ये १ सय ३५ थान एकनाले भरुवा बन्दुक, १० थान दुईनाले बन्दुक र चार थान बारबोर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

सबै हतियार जिल्ला प्रशासन कार्यालयबाट इजाजतप्राप्त रहेको जनाइएको छ । हतियार संकलनपछि हत्या–हिंसाका घटनामा कमी आउनका साथै वन्यजन्तुको चोरी–सिकारीका घटनासमेत कम हुने विश्वास गरिएको छ । गृह मन्त्रालयले उपनिर्वाचन हुने जिल्लामा मंसिर १० भित्र हतियार बुझाउन आग्रह गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले वैध/अवैध हतियार बुझाउन आग्रह गरेकोे बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि अवैध हतियार बुझाउन गत चैत १ मा ३५ दिने सूचना जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here