दाइजोको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै पत्नीको हत्या


७ मंसिर २०७६, शनिबार १३:५८ मा प्रकाशित

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरमा दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि एक युवकले पत्नीको हत्या गरेका छन् ।

स्थानीय प्रकाश मण्डलले करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेका हुन् । हत्या गरेको अवस्थामा उनका ससुरा रामचन्द्र मण्डलले कुसुमलाई उपचार गराउन भन्दै जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए । अस्पतालमा उनको मृत शव राखेर ससुरा मण्डल फरार भएका छन् । शनिबार बिहानी माइती पक्षले घटनाबारे जानकारी पाएपछि सञ्चारकर्मीलाई बोलाएर दाइजोका कारण हत्या गरेको दाबी गरेका छन् । हत्या गरिएकी कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका गर्न नसकेकै कारण हत्या गरेको आरोप लगाए ।

‘ज्वाइँ प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक दबाब दिँदै आएका थिए,’ जीबछले भने, ‘तर आर्थिक अभावका कारण नामसारी गर्न सकेनौं । त्यही झोंकमा हत्या गरेको छ ।’ घटनाबारे गाउँलेले जानकारी दिएपछि अस्पताल आएको उनले बताए । कुसुमको शव अहिले प्रादेशिक अस्पतालको पोष्टमार्टम घरका राखिएको छ । शव नजिकै रगत बगेको छ । अस्पतालका चिकित्सकले समेत हत्या गरेको देखिएको बताएका छन्ना ।

म नछापिदिने सर्तमा एक चिकित्सकले भने, ‘कुटपिट गरेको दाग शरीरको विभिन्न भागमा देखिएको छ । मुखबाट रगत समेत बगेको देखिएको छ ।’ कुसुमको विवाह प्रकाशसँग डेढ वर्षअघि भएको थियो । विवाहमा दुई लाख नगद, अपाचे मोटरसाइकल, सुन र १५ ताला चाँदी समेत दाइजो माइती पक्षले दिएको थियो ।

प्रकाश पक्राउ
घटना शंकास्पद देखिएको भन्दै प्रहरीले मृतक कुसुमका श्रीमान प्रकाशलाई पक्राउ गरेको छ । धनुषाका एसपी शेखर खनालले प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । ‘पासो लगाएर आत्महत्या गर्न खोज्दा ससुराले उपचारका लागि अस्पताल ल्याएको भनिएको छ’, एसपी खनालले भने, ‘घटनाबारे बुझ्न प्रहरी पुगिसेको छ । अहिले हत्या हो कि आत्महत्या भन्न सकिँदैन ।’ पोष्टमार्टमका रिपोर्ट नआएसम्म केही भन्न नसकिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here