‘म अघि बढ्छु’: लागुपदार्थ दुव्र्यसनविरुद्ध शिक्षकहरुलाई अभिमुखिकरण


३ मंसिर २०७६, मंगलवार १२:४८ मा प्रकाशित

झापा । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘म अघि बढ्छु’ अभियान अन्तर्गत माध्यमिक तहका शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेर लागुपदार्थ दुव्र्यसनविरुद्ध प्रशिक्षित गराइरहेको छ ।

सोहि क्रममा मंगलबारदेखि झापाको बिर्तामोडमा शिक्षक नायक अभिमुखिकरण कार्यक्रम आयोजना गरि विभिन्न माध्यमिक विद्यालयका शिक्षकहरुलाई प्रशिक्षण दिन सुरु गरिएको हो । अभियानमा १३ देखि १९ बर्ष उमेर समूहका किशोर किशोरीहरु र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई पहिलो प्राथमिक्तामा राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । खासगरेर १३ देखि १९ बर्ष उमेर समूहका किशोर किशोरीहरु लागुऔषध जस्तो जघन्य अपराधको शिकार बन्ने भएकाले उनीहरु स्वयमलाई यसबारे सचेत गराउने उदेश्यले अभियानको सुरुवात गरिएको अभियानका प्रदेश संयोजक रवि खनालले जानकारी दिए ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशका विभिन्न स्थानमा लागुपदार्थ दुव्र्यसन बढेकाले उक्त कार्यक्रम संचालन गर्नु परेको जानकारी दिए । उनले भने हामिले सभ्य समाजको निर्माण गर्नु छ । लागुपदार्थ दुव्र्यसनले हाम्रो समाजलाई पछाडि धकेलिरहेको छ । उक्त अभियान प्रदेशका २ हजार माध्यमिक विद्यालयमा संचालन गरि राखिएको मन्त्री कार्कीले जानकारी दिए । त्यसमध्ये करिब १५ सय विद्यालयमा शिक्षक नायक अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिसकेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here