काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का सदस्य हेरफेरका लागि सत्तारुढ नेकपाभित्र छलफल तीव्र भएको छ ।
केही दिनमै मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्ने गरी नेकपामा गृहकार्य सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘स्पिड’ अनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर अरुलाई अवसर दिने तयरी गरेपछि छलफल भइरहेको हो । बिदाइ गर्ने मन्त्री र नयाँ मन्त्रीबारे बालुवटार र खुमलटार केन्द्रित छलफल तीव्र भएको हो । दोस्रो पटक प्रधानमन्त्री बन्ने क्रममा आफ्नो गुटनिकटलाई मात्रै मन्त्री बनाएपछि ओली आलोचित भएका थिए ।
आफ्नो गुटका लागि मात्रै च्यापेर मन्त्री बनाएपछि उनीहरुले प्रभावकारी काम गर्न नसकेको भन्दै नेकपाभित्र आलोचना चुलिइरहेका बेला केही दिनमै क्याबिनेटका सदस्य परिवर्तनको रस्साकस्सी नेकपाभित्र सुरु भएको हो । आफ्नो सचिवालयका ६ जना सदस्यलाई बिदाइ गरेका प्रम ओलीले मन्त्रीहरु फेर्न यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरिसकेका छन् ।





