चितवन । गैंडाकोट र चितवन जिल्लालाइ जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुलमा सुरक्षा निकायको सक्रियता आवश्यक देखिएको छ ।
यो पुलबाट नारायणी नदीमा हामफालेर ज्यान गुमाउने क्रम बढेपछि स्थानीय प्रशासनको लागी टाउको दुखाइको बिषय बन्न थालेको हो । बाहिरी जिल्लाका समेत यहीं पुलमै आएर हामफाल्न थालेपछि यो पुललाइ जोखिमयुक्त पुलका रुपमा चित्रण गर्न थालिएको छ । २०३८ सालमा बनेको पुलबाट दैनिक १० हजार भन्दा बढी सवारीसाधनहरु ओहोरदोहोर हुने गर्छन् । २ लेनको सो पुलमा सवारीचाप निकै हुने गर्दछ ।
पुलको नारायणगढतर्फ २०७१ सालबाट शसस्त्र प्रहरी बलको आईआरटी (इमिडियट रेस्पोन्स टिम) पोष्ट समेत खडा गरिएको छ भने, वडा प्रहरी कार्यालय नारायणगढ र गैंडाकोटतर्फ पनि ईलाका प्रहरी कार्यालय नजिकै छ । तर, हामफाले पछिको सूचनाका आधारमा सुरक्षा टोली उद्वारमा खटिदै गए पनि जीवितै उद्वार गर्न भने निक्कै कठिनाइ हुने गरेको छ ।
असोजदेखि हालसम्म ५ जनाले हामफाल्दा यहाँ २ जनाको मात्रै शव भेटिएको छ भने अन्य नदीले नै बगाएर लैजाने गरेको छ । नारायणी पुलबाट हामफालेका अधिकांश अझैसम्म फेला पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार आर्थिक बर्ष ०७५–७६ मा १ जना, ०७४–७५ मा ३ जना, ०७३–७४ मा मात्रै ५ जनाले हामफालेर आत्महत्या गरिसकेका छन् ।





