आज फाल्गुनन्द जयन्तीः प्रदेश १ का १९ स्थानीय तहमा सार्वजनिक बिदा


२५ कार्तिक २०७६, सोमबार १२:१६ मा प्रकाशित

काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ ।

वि.सं. १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारमा महत्त्वपूर्ण योगदान दिएका छन् । उनले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गरेका थिए । उनको पहलमा पाँचथरको चोकमागुमा वि.सं. १९८८ मा गरिएको बृहत् भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ । करिब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए ।

उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ। साथै, कात्तिक २५ मा किरात धर्मावलम्बीहरुका लागि बिदा समेत दिने निर्णय गरेको छ । प्रदेश १ को ८ नगरपालिका र ११ गाउँपालिका गरी १९ स्थानीय तहले कात्तिक २५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कात्तिक १५ गते किरात धर्मावलम्बीहरुले विविध कार्यक्रम, पूजाआजा गरी फाल्गुनन्द जयन्ती मनाउने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here