झापा । झापामा जारी हाम्रो पुर्वाञ्चल गोल्डकपको उपाधिका लागि विभागिय टोली त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेड भिडदैछन् ।
विर्तामोडको डोमलाल रंगशालामा आज यी दुई टोली पहिलो पटक उपाधिको लागि आमने सामने हुन लागेका हुन् । आफ्नो पहिलो खेलमा पाहुना टोली भारतको मोलवे एफसी असामलाई २–० गोलले पराजित गरेको आर्मीले सेमिफाइनलमा भारतकै आक्रमण एफसी सिक्किममा पराजित गरेको थियो । आर्मीले सिक्किमसँग निर्धारित समय गोलरहित बराबरी खेलेर टाइब्रेकरमा कठिन जीत निकालेर फाइनल यात्रा तय गरेको टोली हो । राम्रो टिमलाई पराजित गरेर आएपछि आर्मीका खेलाडीको मनोबल उच्च रहेको प्रशिक्षक नबिन न्यौपानले बताए ।
फाइनल खेलमा आफ्ना नयाँ खेलाडीको अनुभव नभएकाले यसअघि गरिएको गल्ती सच्याएर उपाधि रक्षा गर्ने उनको दाबी छ । स्ट्राइकरको कमी र फिनिसिङ हुन नसकेको कमजोरी स्वीकार्दै उनले भने, ‘हाम्रा मिस्टेक सुधारेर ९० मिनेटभित्रै नतिजा आफ्नो पक्षमा पार्ने दाउ छ ।’ नियमित खेलाडी राष्ट्रिय टोलीको क्याम्पमा, साग र यु १९ मा रहेको बताउँदै चर्च ब्वाइजको कमजोरीको फाइदा उठाएर जीत निकाल्ने दाबी गरेका छन् । राम्रो टिमलाई पराजित गरेर फाइनलमा आएको चर्च ब्वाइजलाई कम आँक्न नमिल्ने बताएका उनले युवा खेलाडीले भरिएको चर्च ब्वाइजको सट पास खेल्ने कलालाई मार्क गरेको बताए ।
आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले चर्च ब्वाइजको प्लानिङलाई ब्रेक गरेर सिजनको पहिलो उपाधि रक्षा गर्ने रणनीतिका साथ मैदान उत्रने सुनाए । आर्मीले यस रंगशालामा तीन पटक झापा गोल्डकपको उपाधि जितिसकेको छ भने यो चौथो पटक फाइनल भिडन्त हो । यसैगरी चर्च ब्वाइजका प्रशिक्षक रुवेन राईले नेपालकै राम्रो टिम आर्मीसँग फाइनल खेल्न पाउनु ठुलै अवसरका रुपमा लिएको बताए । उनले भने, ‘यो संयोगमात्र होइन, दुर्लभ भेट पनि हो ।’ आर्मीका नियमित तथा सिनियर खेलाडीको अभावले चर्च ब्वाइजले अवसरको रुपमा नलिने बताएका उनले आर्मीको खेलअनुसार रणनीति बनाउने सुनाए ।
खेलमा हार जीत स्वाभाविक ठानेका उनले ९० मिनेटभित्र जसले मिहेनत गर्छ उसैले उपाधि उचाल्ने पनि बताए । राष्ट्रिय लीगको सी डिभिजनमा भर्खरै उक्लिएको चर्च ब्वाइज फाइनल जीतका लागि शतप्रतिशत मिहेनत गर्ने दाबी उनको छ । चर्च ब्वाइजले अर्को विभागी टोली नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा १–० गोलले पाखा लगाउँदै फाइनल यात्रा तय गरेको थियो भने पहिलो खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटबललाई टाइब्रेकरमा पराजित गरेको थियो । जायोन स्पोर्टस् क्लब बिर्तामोडले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेता टोलीले ६ लाख २५ हजार पाउनेछ ।





