संखुवासभा । आगामी मंसिर १४ गते संखुवासभाका दुई स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले ११ मतदान स्थल तोकेको छ । ११ मतदान स्थलमध्ये १० वटा सुरक्षाका हिसाबले सम्वेदनशील रहेको निर्वाचन कार्यालय खाँदबारीमा प्रमुख चोलाराज दंगालले बताए ।
१० मतदान स्थललाई जिल्ला सुरक्षा समितिले सम्वेदनशीलमा राखेको छ । सुरक्षका हिसाबले १० वटा मतदान स्थललाई सम्वेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । संखुवासभाका प्रजिअ दुलालका अनुसार एक मतदान स्थालको दुई मतदान केन्द्रलाई मात्रै सामान्य सम्वेदनशीलको सूचीमा राखिएको बताए । सम्वेदनशील मतदान स्थलमा ९ हजार १ मतदाता रहेका छन् भने १३ वटा मतदान केन्द्र रहेका छन् । संखुवासभा मकालु गाउँपालिका १० वटै मतदान स्थललाई सुरक्षाका हिसाबले सम्वेदनशील मानिएको उनको भनाइ छ । संखुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका–३ का वडाअध्यक्षको पदका लागि उपनिर्वाचन मंसिर १४ गते निर्वाचन हुँदैछ । उपनिर्वाचन हुने मकालु गाउँपालिकामा ९ हजार १ र खाँदबारी नगरपालिका–३ मा १ हजार ८ सय २२ मतदाता छन् । मतदान केन्द्रलाई दुई भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ दुलालले जानकारी दिए ।
सम्वेदनशील मतदान स्थल तथा केन्द्रको सुरक्षा चुनौति हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्ने रणनीति भएको उनले बताए । भौगोलिक विकटता, दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता र यस अघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर सम्वेदनशील र सामान्य गरी मतदान स्थल तथा केन्द्र छुट्याइएको प्रजिअ दुलालले बताए ।





