पर्सा । अवैधरूपमा सीमापारीबाट ल्याई काठमाडौंतर्फ लान थालेको समयमा पर्सा प्रहरीले ट्रकसहित चौपाया नियन्त्रणमा लिएको छ ।
सहज रूपले सीमा कटाइ पर्साको बाटो हुँदै बाराको जितपुर पुर्याइ काठमाडौं लान ट्रकमा लोड गर्दै गरेको समयमा पर्सा प्रहरीले ती चौपाया र ट्रकलाई नियन्त्रणमा लिएको हो । अवैध तरिकाले ल्याएका चौपायामा १२ वटा भैंसी र ११ वटा पाडापाडी रहेको पर्सा प्रहरीले जनाएको छ । यी चौपाया ना.५ख १९४७ नम्बरको ट्रकमा लोड गरी काठमाडौं लान लागेको थियो । सोही समयमा पर्सा प्रहरी मातहतको प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले बताए । ‘अध्यारो हुन थालेपछि त्यो समयलाई कारोवारीले उपयोग गर्दै ट्रकमा लोड गरी काठमाडौंका लागि हिँडाउदा रहेछन् । यो थाहा पाई पर्सा प्रहरी मातहतको प्रहरीले निगरानी बढाएर नियन्त्रणमा लिएको छ’ उनको भनाइ ।
उनका अनुसार विगतमा पनि अवैध तरिकाले भारतबाट नेपाल ल्याइएका केही भैंसी र पाडापाडी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि वीरगन्ज भन्सारमा पठाइएको थियो । फेरि अवैध तरिकाले चौपायाको पैठारी भएको फेला परेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । एक मुलुकबाट अर्को मुलुकमा चौपाया तथा पक्षीहरू निर्यात पैठारी गर्दा भन्सार नाकामा रहेको पशु क्वारेन्टाइनमा चेक गराएर मात्र आयात पैठारी गर्नुपर्ने प्रावधान रहेको छ । चौपायाको अवैध ढंगले कारोवार गर्नेले यो प्रावधानलाई उलंघन गरी गलतबाटो प्रयोग गर्ने गरेका छन् ।





