झापा । ‘गो व्याक इण्डिया’ को नारा लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
भारतले भर्खरै जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भुमि कालापानी, लुपिलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै झापामा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले भारतीय विस्तारविरुद्ध विरोध प्रर्दशन गरेका हुन् । नेवि संघ झापा र मेची बहुमुखी क्याम्पस नेवि संघ इकाई समिति भद्रपुरले झापाको सदरमुकाम भद्रपुरमा शुक्रबार बिहान विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरु मेची बहुमुखी क्याम्पस परिसरबाट निस्किएको विरोध र्याली क्याम्पसमोड, एसपीमोड, टे«ड युनियन चोक हुँदै सिडीओ कार्यालय अगाडिबाट चन्द्रगढी बजारबाट लेखनाचोक हुँदै टे«ड युनियन चोकमा आएर कोणसभा गरेका थिए । हाम्रो माटो हाम्रो देश प्राण भन्दा प्यारो छ, भारतीय विस्तारबाद मुर्दाबाद, सरकार निक मौन छ भन्दै र्यालीमा सहभागि विद्यार्थीहरुले नाराबाजी समेत गरेका थिए ।
यता विरोधसभालाई सम्बोधन गर्दै नेवि संघ झापाका सभापति भुवन बुढाथोकीले भारतले पटक पटक नेपाली भुमि अतिक्रमण गर्दै आइरहेको अवस्थामा पनि सरकार मौन रहेकोमा खेद प्रकट गरे । उनले भारतीय विस्तारबाद विरुद्ध सीमा क्षेत्रमा गएर पनि प्रदर्शन गर्न विद्यार्थीहरु पछि नहटने बताए । उता सतारुढ नेकपाका भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिहीबार साँझ ‘गो व्याक इण्डिया’ को नारा लगाउँदै विरोध प्रदर्शन गरेको अनेरास्ववियुका रोशन लामाले जानकारी दिए ।





