चितवन । ईलाका प्रहरी कार्यालय गैंडाकोटले अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर १३ घर भई हाल गैंडाकोट नगरपालिका वर्डा नम्बर ५ स्थित बिष्णु श्रेष्ठको घरमा डेरा गरी बस्ने २९ बर्षीया सुनिल रौनियार र २२ बर्षीया सीमा शाहलाई अवैध लागू औषध सहित प्रहरीले मंगलबार बेलुकी पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख दीपक कार्कीका अनुसार लागुऔषध लुकाई छिपाई बेचबिखन गर्ने गरेको भन्ने विशेष सुराकीको आधारमा प्रहरी नायब निरीक्षक बालकृष्ण शर्माको कमाण्डमा खटी गएको प्रहरीको बिशेष टोलीले स्थानीयको सहयोगमा खानतलासी गर्ने क्रममा सुनिल रौनियारले लगाएको ट्याक पाईन्टको बायाँ खल्तीबाट अवैध लागुऔषध डाईजेपाम ३ एम्पुल, नुफिन ३ एम्पुल र फेनारगन ३ गरी जम्मा ९ एम्पुल, (सेट ३) बरामद गरेको जानकारी दिए ।
उनले डेरा कोठा खानतलासी गर्ने क्रममा ढोका नजीकैको उत्तर पट्टी पत्रिकामा कालो टेपले बेरीएको २२/२२ एम्पुलका दरले डाईजेपाम, नुफिन र फेनारगन गरी जम्मा ६६ एम्पुल, (सेट २२) अबैध लागुऔषधसहित स्थानीय सुनिल रौनियार र सीमा साहलाई पक्राउ गरीएको र उनीहरुमाथि थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिए ।





