कोहलपुरका डिएसपीलाई विभागीय कारबाही गर्न कांग्रेसको माग


१७ कार्तिक २०७६, आईतवार १२:५३ मा प्रकाशित

बाँके । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न माग गरेका छन् ।

गत बिहीबार भातृ संगठन नेपाल तरूण दल नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित छ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको थियो । डिएसपी शाहीले खसी मागेको र नदिएपछि हतियार राखेर फसाउन खोजेको भन्दै तरूण दलले विज्ञप्ति निकालेर अनुसन्धान गर्न माग गरेको छ । शर्माले पनि डिएसपी शर्माले दिएको धम्कीको रेकर्ड सार्वजनिक भइसकेको उल्लेख गर्दै विभागीय अनुसन्धान गर्न माग गरेका हुन् । डिएसपी शाहीले खसी नदिए तिघ्रा छेडिदिने उल्लेख गरेको रेकर्ड सार्वजनिक भएको थियो ।

आइतबार ट्वीट गर्दै शर्माले भनेका छन्, ‘धम्कीको रेकर्ड सार्वजनिक छ। नेपाल प्रहरीले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस्, प्रहरीको मर्यादा हामी राख्छौं। निष्पक्ष छानबिनलाई सघाउँछौं। तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणमको तीन मन्त्र पुनः पढाइयोस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here