रुपन्देही । सद्भाव, समानता र एकताको प्रतीकको रूपमा उल्लासका साथ मनाइने छठपर्वको अवसरमा आज रुपन्देही र नवलपरासीमा ५ स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।
रुपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाले विदा दिएका छन् । उनीहरुले सर्वाजनिक सूचना जारी गरेर विदा दिएको उल्लेख गरेका छन् । यस्तै, पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले आज स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।
नेपाल सरकारले छठपर्वको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठपर्वको मुख्य दिन शनिबार परेको थियो । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन भएको छ । तर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालुहरु रातभर जाग्राम बसेको तथा यस पर्वमा ३६ घण्टा व्रत बसेका व्रतालुलाई एक दिन आरामका लागि बिदा गरिएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।





