गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ ।
एक महिला र दुई बालिकाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । महिलाको शव भेटिएको स्थानबाट एक बालिकाको शव दुई सय मिटर र अर्को बालिकाको दुई सय ३० मिटरको दूरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए । महिला अन्दाजी २७ र बालिकाहरू एउटा अन्दाजी ७ र अर्को ११ वर्षको रहेको घलेले बताए ।
घटनास्थल सरमुकाम तम्घासबाट साढे ५ घन्टाको सवारी दूरीमा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ लागेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान सुरू भएको प्रहरी उपरीक्षक राजेन्द्र सिहं खड्काले बताए ।





