काठ मिलबाट ४५ क्युफिट सालको गोलिया बरामद


१५ कार्तिक २०७६, शुक्रबार १२:०५ मा प्रकाशित

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ सखुवा प्रसौनी टोलमा सञ्चालित सुदामा समिलबाट ४५ क्युफिट सालको काँचो काठ बरामद भएको छ ।

अवैध रूख कटान गरी ल्याएर लुकाएर राखेको अवस्थामा सालको १२ थान गोलिया वनगस्ती टोलीले सेना र प्रहरीको सहायतामा बरामद गरेको हो । मधुवन मथौल सबडिभिजन कार्यालय बढनियारका सुबेदार प्रदीप तिमल्सिनाले सुदामा समिलबाट खर र काठको भुसले छोपेर राखेको अवस्थामा ४५ क्युफिट काठ बरामद गरिएको जानकारी दिए । काठको बजार मूल्य १ लाख ४० हजार अनुमान गरिएको छ । ‘रंगपुरटाँडीले सूचना पाएनछ, मैले सूचना पाएपछि त्यहीँ पुगेर काठ बरामद गरियो,’ सुबेदार तिमल्सिनाले भने ।

बढनियारबाट रंगपुरटाँडीस्थित समिल करिब चार किलोमिटर दक्षिणमा पर्दछ । सो क्षेत्रमा रंगपुरटाँडी सबडिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको मिलोमतोमा काठ तस्करी हुने गरेको स्थानीय बताउँछन् । तस्करीको काठ सखुवाप्रसौनी गाउँपालिकाको प्रसौनी, कौवाबनकटैयास्थित १ दर्जनभन्दा बढी फर्निचर उद्योगमा पुग्ने गर्दछ । मिल सञ्चालक जगलाल साह र मिस्त्री राजकिशोर साहले भने सो काठको बारेमा आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । तर, रंगपुरटाँडीस्थित जंगलबाट अवैध रूख कटान गरी ल्याएर समिलमा लुकाएर राखिएको दावी वनगस्ती टोलीले गरेको छ । मिल सञ्चालकसँग आवश्यक सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको सुबेदार तिमल्सिनाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here