कैलाली । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओडका छोरा निखिल ओड पक्राउ परेका छन् ।
उनलाई प्रहरीले कुटपिट आरोपमा पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का २० वर्षीय पारस जोशीलाई इटा प्रहार गरी घाइते बनाएपछि प्रहरीले उपमहानगर प्रमुखका २० वर्षीय छोरा निखिललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घाइते जोशीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको उनले बताए ।
जोशीको निधारमा चोट लागेको छ । ओडले अर्कै व्यक्तिलाई प्रहार गरेको इटाले जोशीलाई लागेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था र बयानका आधारमा पक्राउ परेका व्यक्तिलाई मुद्धा लगाइने प्रहरी प्रवक्ता बस्नेतले बताए ।





