काठमाडौ । बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा सडक खन्ने क्रममा भएको डोजर घटनाप्रति नेपाली काँग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेसले दशरथचन्द नगरपालिकाले सहमति निर्माण गर्ने प्रयत्न गर्दा गर्दै स्थानीय नागरिकलाई विश्वासमा नलिई सोमबार एकपक्षीय रुपमा सडक खन्ने क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ ‘विकासका कुनै पनि कार्यबाट सम्बन्धित क्षेत्रका नागरिक लाभान्वित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ तर सम्बन्धित क्षेत्रका नागरिकलाई विश्वासमा नलिने र स्काइभेटर प्रयोग गरी सडक निर्माण गर्ने कार्य अघि बढाउँदा विरोधमा उत्रिएका नागरिकमाथि ‘डोजर’ चलाइएको घटना गम्भीर र अक्षम्य छ । नेपाली कांग्रेस यो घटनाको गहिरो छानविन गरी दोषी माथि कडा कारवाही गर्न र घटनाका घाइतेलाई सम्पूर्ण उपचार गर्न सरकार समक्ष माग गर्दछ ।’
नेपाली कांग्रेसका तर्फबाट घटनास्थलमै पुगेर स्थानीय नागरिक, स्थानीय सरकार, राजनीतिक दलहरु, स्थानीय प्रशासन, संचारकर्मीहरु एवं आवश्यक व्यक्तिहरुसँग संवाद गरी आवश्यक निर्णय लिन र प्रतिवेदन पेश गर्न केन्द्रीय प्रतिनिधिका रुपमा श्रीबहादुर सिंह थापालाई बैतडी पठाइएको पनि विज्ञप्तीमार्फत जानकारी दिइएको छ । कञ्चनपुर जिल्लाका पूर्व सभापति समेत रहनु भएका संविधान सभा सदस्य थापाले मंगलबार साँझबाट बैतडीमा आफ्नो जिम्मेवारी प्रारम्भ गर्नुहुने पनि विज्ञप्तीमा जनाइएको छ ।





