काठमाडौं । ज्यान मुद्दामा अदालतद्वारा पक्राउ पुर्जी जारी गरिएका दोलखाका सांसद पार्वत गुरुङलाई साधारण तारेख छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग पक्राउ पुर्जी जारी भएपछि सांसद गुरुङ आइतबार आफैँ अदालतमा उपस्थित भएका थिए । काठमाडौँ जिल्ला अदालतले १२ भदौ २०७६ मा जिल्ला प्रहरी कार्यालय दोलाखालाई पत्र पठाउँदै अदालत उपस्थित गराउन आदेश गरेको थियो । जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय सिँगटीमा पत्र पठाएपछि ८ असोजमा गुरुङलाई म्याद तामेल गरिएको थियो । अदालतको आदेश बमोजिम सांसद गुरुङ आइतबार बिहान सवा १० बजे अदालत उपस्थित भएका थिए ।
गुरुङको उपस्थितिपछि आइतबारै भएको थुनछेक बहसपछि उनलाई साधारण तारेखमा छाड्ने आदेश भएको अदालतका कानून अधिकृत बसन्त न्यौपानेले जानकारी दिए ।





