काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले छैटौं जीत निकाल्दा अर्को बलियो प्रतिद्वन्द्वी टोटनह्याम भने बराबरीमा रोकिएको छ ।
अवे मैदानमा भएको खेलमा पेप ग्वार्डिओलालाई केहि राहत भएको छ । साविक च्याम्पियन सिटी लिभरपुल भन्दा अझै ६ अंकले पछि छ । सिटीको जीतमा गाब्रिएल जिसस र डेविड सिल्भाले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । जिससले ३९ र सिल्भाले ४१ औँ मिनेटमा गोल गरेका थिए । जितपछि दोस्रो स्थानको सिटीको ९ खेलबाट १९ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको २४ अंक रहेको छ । टोटनह्यामले भने अन्तिम समयमा वार्टफोर्डसँगको हार टार्दे खेल १–१ को बराबरी गर्यो । छैटौं मिनेटमानै वार्टफोर्डले डोकुरेको गोलबाट अग्रता बनाए पनि ८६ औं मिनेटमा टोटनह्यामले डेल अलीको गोलमार्फत खेल बराबरी गर्दे अंक खोसेको थियो ।
शनिबार राति नै भएको खेलमा बर्नलीलाई २–१ ले पराजित गरेको लेस्टर सिटी तेस्रो स्थानमा पुगेको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टका लागि ४५ औँ मिनेटमा जेमी भर्डी र ७४ औँ मिनेटमा युरी तिलेमान्सले गोल गरे । बर्नलीका लागि २६ औँ मिनेटमा क्रिस वुडले गोल गरेका थिए । जितपछि लेस्टरको ९ खेलबाट १७ अंक भएको छ । यसैगरी शनिबार राति नै भएको खेलमा एलोन्सोको गोलबाट न्युक्यासललाई १–० ले पराजित गरेको चेल्सीको पनि ९ खेलबाट १७ अंक नै भएको छ । ७३ औँ मिनेटमा एलोन्सोले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । चेल्सी चौथो स्थानमा पुगेको छ ।
शनिबार राति भएका अरु खेलमा एभर्टनले वेष्टह्यामलाई २–० तथा एस्टन भिल्लाले ब्राइटनलाई २–१ ले पराजित गरेको छ । त्यस्तै वुल्भ्स र साउथह्याम्प्टनले समान १–१ को बराबरी खेल्दा बोर्नमाउथ र नर्विचले गोलरहित बराबरी खेलेका छन् ।





