देउवाले सच्याए आलम पक्राउ बारेको आफ्नो भनाई


२ कार्तिक २०७६, शनिबार १७:१० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानूनी राज्यमा निर्दोषलाइ फसाउने र दोषीलाई कारबाही गर्न नहुने भन्ने पक्षमा आफु नरहेको स्पष्टिकरण दिएका छन् ।

कांग्रेसका नेता मोहम्मद अफ्ताव आलमको पक्राउका विषयमा कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको कार्यक्रममा सरकारले १२ वर्षपछि आलमलाई पक्राउ गरेर राजनीतिक प्रतिसोध साँध्न खोजेको आरोप लगाएका थिए । तर उनले २ दिनअघि आफुले बोलेको विषय कानूनी राज्यको विपक्षमा नभएको स्पष्टिकरण दिएका हुन् । सभापति देउवाले आज जारी गरेको प्रेस विज्ञप्तीमा उनले भनेका छन्,‘ कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ बर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । तर कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’

कांग्रेस सांसद आलम पक्राउका विषयमा स्पष्ट पार्न भन्दै सभापति देउवाले जारी गरेको विज्ञप्तीमा अगाडि उल्लेख गरिएको छ,‘मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here