पार्किङको मोटरसाइकल चोरी गर्दैगर्दा दुई पक्राउ


३० आश्विन २०७६, बिहीबार १४:१० मा प्रकाशित

पर्सा । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जको परिशरभित्र पार्किङ गरिराखेको ना२०प ११४ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको समयमा प्रहरीले भारतका श्याम किशोर साह तुराहालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–१६ मा रहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल परिशरभित्र राखेको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको समयमा भारतका तुराहालाई पर्सा प्रहरी मातहतको प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा पर्ने व्यक्ति भारत बिहार राज्य जिल्ला मोतिहारी आदापुर थाना इनर्वा वेल्दर्वा बस्ने वर्ष २१ को श्याम किशोर साह तुराहा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनले बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरस्थित विश्वकर्मा मोटरसाइकल वर्कसपमा मोटरसाइकल बेच्ने गरेको खुलासा भएको पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले बताए ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा त्यो वर्कसपमा पनि एउटा पहिचान नखुलेको मोटरसाइकल फेला परेपछि सो वर्कसपका सञ्‍चालक सिकेन्द्र साहलाई समेत ना५२प ६६५२ नम्बरको सुपर स्पिलेण्डर मोटर साइकलसहित नियन्त्रणमा लिएको छ । उनले सो मोटरसाइकल लुकाइ छिपाई राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको पर्सा प्रहरीको भनाइ छ । चोरीको अभियोगमा पक्राउ परेका दुवै अभियुक्तलाई थप अनुसन्धान हुँदैछ । दुवै मोटरसाइकल भने पर्सा प्रहरी कार्यालयमा ल्याई आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here