पारस खड्काद्वारा नेपाली क्रिकेट टिमको कप्तानबाट राजीनामा घोषणा


२८ आश्विन २०७६, मंगलवार १३:०९ मा प्रकाशित

काठमाडौं । पारस खड्काले नेपाली क्रिकेट टिमको कप्तानबाट राजीनामा घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फिर्ता गरेकै भोलिपल्ट कप्तानको भूमिकाबाट राजीनामाको घोषणा गरेका हुन् । क्यानलाई गरिएको निलम्बन तीन वर्षपछि फुकुवा भएकोमा निकै खुसी लागेको बताउँदै अब आफुले कप्तानबाट राजीनामा दिएको पारसले विज्ञप्तिमा जनाएका छन् । ‘नेपाली क्रिकेटको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै राम्रो लागेको छ । नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाका लागि नयाँ समितिले राम्रो गरोस भन्‍ने कामना गर्दछु,’ पारसले विज्ञप्तिमा भनेका छन्, ‘मैले तत्काल लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु । यो अविश्वनीय यात्रामा मलाई सहयोग गर्ने सबै खेलाडी, प्रशिक्षक, अम्पायर, साथीहरु तथा मेरा परिवारलाई धन्यवाद दिन चाहन्छु । जय नेपाल !’

सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका पारस सन् २००९ बाट कप्तान बनेका थिए । उनले विनोद दासलाई विस्थापित गर्दै कप्तान बनेका थिए । युएईमा भएको एसिसी टी–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानको जिम्मेवारी सम्हालेका थिए । नेपाली क्रिकेटका सबैभन्दा सफल कप्तान पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउन निर्णायक भूमिका खेलेका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकप पनि खेल्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here