काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुनेमा इन्द्रवती गाउँपालिकका ९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य रहेका छन् । त्यस्तै काभ्रे पाँचखालकी संगीता पुरकोटी र काभ्रेका केदार महाजु छन् । महाजु बसका चालक हुन् । अन्यको सनाखत भएको छैन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका अन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ भने ५ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडकबाहिर अन्दाजी ६० मिटर तल खसेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।