मादक पदार्थ सेवन गरी श्रीमती र छोरीको हत्या, छोरा घाइते


२४ आश्विन २०७६, शुक्रबार १२:३५ मा प्रकाशित

सिन्धुली । मादक पदार्थ सेवन गरी सामान्य घरायसी विवादमा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन् ।

गोलन्जोर गाउपालिका–६ नाकाजुलीका ५० वर्षीय टेकबहादुर मस्राङगीले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको भरुवा बन्दुकले हानी हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेका टेकबहादुर श्रीमती किरणसँग विवाद गरी सुतेको थिए । तर, सुतेको केही समयपछि पुनः राति ११ बजे घरमा रहेको भरुवा बन्दुक प्रहार गरेर श्रीमती र छोरीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

टेकबहादुरले श्रीमती, छोरी र छोरा सुतिरहेको कोठामा गई बन्दुकले हानेको प्रहरीले बताएको छ । बन्दुकको गोलीले श्रीमतीको घाँटी र छोरीको कन्चटमा लागी घटनास्थलमा नै दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । प्रहरी उपरीक्षक सिंहका अनुसार टेकबहादुरले धारिलो हतियार प्रहार गरी छोरा १९ वर्षीय कृष्णलाई पनि घाइते बनाएका छन् ।

कृष्णको गर्धन र बाया हातमा चोट लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । टकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here