पाल्पा । चाडपर्वका बेला यात्रुसँग बढी भाडा असुल्ने, क्षमताभन्दा बढी सामान र यात्रु बोक्ने साथै अत्यधिक गतिका कारण दुर्घटना हुने गुनासोका आधारमा पाल्पामा जिल्ला प्रहरी र ट्राफिक प्रहरीले राजमार्गमा चेकजाँचलाई तीव्रता दिएको छ ।
पोखरा, स्याङ्जाबाट बुटवल, भैरहवा, लुम्बिनी र पाल्पासम्म चल्ने पृथ्वी राजमार्ग सञ्चालक समितिको बस, ट्राभलबाट चल्ने ठूला पर्यटक बस र साना गाडीमा बढी भाडा लिएको यात्रुको गुनासो रहेको छ । ४ सय रुपैयाँ भाडा लाग्नेमा ९ सय रुपैयाँसम्म लिएका छन् । यात्रुले ट्राफिकले समयसमयमा राजमार्गमा यात्रुका कुरा सुन्ने र चेकजाँच गर्नुपर्ने सुझाव दिएका छन् । चाडपर्वमा विशेषगरी कुनै पनि दुखद घटना नहोस्, पर्वको बेला गाडीले पनि क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको जस्को कारणले गर्दा नै दुर्घटनाको सम्भावना बढी हुने गर्दा त्यसको न्यूनीकरणका लागि चेकजाँच बढाइएको पाल्पाका डिएसपी कृष्णराज सापकोटाको भनाइ छ ।
दशैँ-तिहारमा सबैले सुरक्षित यात्रा गर्न पाउन् र सबै यात्रु, चालक सुरक्षित गन्तव्यमा पुगुन् भन्ने हेतुका साथ चेकजाँचलाई तिव्रता दिएको प्रमुख जिल्ला ट्राफिक पाल्पा पृथ्वीनारायण काफ्लेको भनाइ छ । ट्राफिक प्रहरीले भने समय समयमा चेकजाँच गरेको र यात्रुका गुनासालाई सम्बोधन गर्दै आएको जनाएको छ । प्रहरीले सोधपुछ गर्दा बढी भाडा असुलेको नपाएकाले कारबाही गर्न सकेको छैन । चाँडपर्वका बेलामा प्रहरीको आँखा छलेर बढी यात्रु राख्ने, अधिक भाडा असुल्ने र तीब्र गति गराउने प्रवृत्ति बढ्ने गरेको छ ।





