काठमाडौं । सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाहीको स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रहरी स्रोतले यस मुद्दामा कुनै कसर नराखी अनुसन्धान गर्ने जानकारी दिँदै सो कुरा बताएको हो । संघीय संसद सचिवालयमा नर्सको पदमा कार्यरत रोशनी शाहीको यौन दुर्व्यवहार गरेको भनिएको ६ दिनपछि प्रहरीको निगरानीमा स्वास्थ्य परीक्षण गरिएको हो । उनले गत आइतबार सभामुख रहेका महराले आफ्नो कोठमा आएर यौन दुर्व्यवहार गरेको संचार माध्यमबाट सार्वजनिक गरेकी थिइन् । उनले त्यस्तो बताएको दोस्रो दिन नै बयान फेर्दै महराले आफूमाथि यौन दुर्व्यवहार नगरेको कुरा संचार माध्यममा बताएकी थिइन् । नेपाल प्रहरीको उच्च स्रोतले समाचारमा नाम उल्लेख नगर्ने शर्तमा भन्यो, ‘रोशनी शाहीको स्वास्थ्य परीक्षण र बयान लिइएको छ । बाँकी अनुसन्धानको काम अगाडि बढेको छ ।’
प्रहरीले हिजो शुक्रबार रोशनी शाहीको बयान लिएको प्रहरी स्रोतले बताएको छ । महराविरुद्ध उजुरी दिएकोबारे प्रश्न गर्दा ती अधिकारीले अहिलेसम्म त्यस्तो नभएको बताएका छन् । उनले अनुसन्धान भने जारी रहेको बताए । नयाँ बानेश्वर प्रहरी वृत्तमा रोशनीको उनका श्रीमानको उपस्थितिमा बयान लिइएको ती अधिकारीले बताए ।





