विप्लवले लुकाइ राखेको ठुलो परिमाणको विष्फोटक पदार्थ प्रहरीद्वारा सार्वजनिक


१३ आश्विन २०७६, सोमबार १७:५२ मा प्रकाशित

झापा । झापामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले लुकाइ राखेको अवस्थामा ठुलो परिमाणको विष्फोटक पदार्थ प्रहरीले बरामद गरी सार्वजनिक गरेको छ ।

अर्जुनधारा–१ सिस्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले लुकाइ राखेको अवस्थामा प्रहरीले निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) विष्फोटक पदार्थ २ सय ५ लोला बरामद गरेको आज बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । बरामद गरिएको विष्फोटक पदार्थ २५ के.जी भन्दा माथि रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । यस किसिमको विष्फोटक पदार्थ डेटोनेटरको माध्यमबाट विष्फोट हुने प्रहरी उपरीक्षक दिनेश राज मैनालीले जानकारी दिए । एकदेखि दुई लोलाको प्रयोगबाट एउटा गाडी डिस्पोज गर्ने क्षमता यस विष्फोटक पदार्थमा भएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले आइतबार राति अर्जुनधारा नगरपालिकाको एक घरमा भण्डारण गरी राखेको विस्फोटक पदार्थ बरामद गरेको हो । उनीहरुले चियाको बोटमा हाल्ने औषधि भनेर ती सामग्री लुकाई राखेको पाइएको मैनालीले बताए । जिल्लामा श्रंखलाबद्ध रूपमा बम विस्फोटका घटना हुन थालेपछि झापा प्रहरीले विप्लवका जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका–१ का ३४ वर्षीय प्रवीण मिश्र ‘मनिष’, जिल्ला सदस्य हल्दीवारी गाउँपालिका–५ का ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भिमफेदी गाउँपालिका–२ का २६ वर्षीय अनुल सारु मगरलाई पक्राउ गरेको छ । उनीहरूकै बयानको आधारमा अर्जुनधारामा भण्डारण गरी राखिएको विस्फोटक पदार्थ बरामद गरेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here