जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वकाे ध्यानाकर्षण गराइयाे


११ आश्विन २०७६, शनिबार ११:१५ मा प्रकाशित

काठमाडौँ । नेपालले नगण्य उत्सर्जनका बाबजुद पनि गरिब देशहरुले जलवायु परिवर्तनको असर भोग्नु परेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।

संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले गरिब देशहरुले जलवायु परिवर्तनको अनुपातहीन, अन्यापूर्ण र औचित्यहीन असर भोग्नु परेको बताए । हिमनदीहरु दिनानुदिन पग्लिँदै गएकाले यो निकै खतरापूर्ण भएको भन्दै तत्काल आवश्यक कदम चाल्न आवश्यक भएको मन्त्री ज्ञवालीले बताए । जलवायु परिवर्तनका कारण आउने प्राकृतिक विपत्तिका कारण बर्सेनी थुप्रै नेपाली नागरिकले ज्यान गुमाउने गरेको बताउँदै यो वर्ष मात्रै बाढी पहिरो र आँधीमा परी कैयौँ नेपालीले ज्यान गुमाएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

परराष्ट्र मन्त्री ज्ञवालीले ‘सगरमाथाको देश नेपाल जलवायु परिवर्तनको केन्द्रमा रहेको बताए । मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै आउँदो वर्षको अप्रिलमा ‘सगरमाथा संवाद’ आयोजना हुने बताए । साथै जलवायु परिवर्तनको असरसँग जुध्न संयुक्त राष्ट्र संघले विभिन्न तहमा प्रयास गर्नेमा नेपाल विश्वस्त रहेको मन्त्री ज्ञवालीले बताए । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको संरचना प्रतिनिधिमूलक बनाउनु पर्ने समेत बताए । त्यस्तै सुरक्षा परिषदको कामकारबाही पारदर्शी हुनुपर्ने बताउँदै उनले लोकतान्त्रिक चरित्र र जवाफदेही प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here