काठमाडौं । प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेना र खुफिया एजेन्सी आईएसआईले जसलाई जिहादका लागि तालिम दिएको थियो, उनीहरु कालान्तरमा चरमपन्थी समूह अलकायदा बनेको बताएका छन् ।
साथै सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकालाई साथ दिएर पाकिस्तानले ठूलो गल्ती गरेको बताएका छन् । न्यूयोर्कमा एक थिंक ट्यांक काउन्सिल अन फोरेन रिलेसन्स (सीएफआर) को कार्यक्रममा अमेरिकाका पूर्व रक्षामन्त्री जिम म्याटिसले एक संस्मरणमा गरिएको एक टिप्पणीमा उनको प्रतिक्रिया मागिएको थियो, जसमा उनले भने, ‘जति देशप्रति मेरो चासो परेको छ, यसमा पाकिस्तानलाई सबभन्दा खतरनाक मान्छु ।’
जवाफमा इमरान खानले पाकिस्तानमा किन चरमपन्थी बढे भन्नेबारेमा म्याटिसले पूरा नबुझेको बताए । उनले ८० को दशकको परिस्थितिको चर्चा गर्दै भने, ‘१९८० मा सोभियत संघले अफगानिस्तानमा आक्रमण गर्दा पाकिस्तानले अमेरिकासँग मिलेर प्रतिरोध गरेको थियो । पाकिस्तानको आईएसआईले विश्वभरबाट बोलाइएका चरमपन्थीलाई तालिम दिएको थियो । उनीहरुलाई सोभियत संघविरुद्ध लड्न तयार गरिएको थियो । यसरी हामीले जिहादी समूह बनायौं ।’
उनले भने, जब १९९८ मा सोभियत सेनाले अफगानिस्तान छाड्यो, अमेरिका पनि पाकिस्तानबाट गयो । तर जिहादी समूह पाकिस्तानमै रह्यो र ९र११ पछि पाकिस्तानले फेरि एक पटक आतंकविरुद्धको लडाईमा अमेरिकालाई साथ दियो र यो पटक जब अमेरिका अफगानिस्तानमा फर्कियो, त्यसबेला पाकिस्तानको जिहादी समूह त आतंकवादी समूह भइसकेको थियो । इमरानले भने, ‘हामीले पहिले उनीहरुलाई जिहादका लागि ट्रेनिङ दियौं र फेरि उनीहरुलाई भन्यौं कि यो आतंकवाद हो । मलाई लाग्छ हामी तटस्थ रहनुपर्छ । पाकिस्तानले ९र११ पछि अमेरिकालाई साथ दिएर ठूलो गल्ती गर्यौं ।’ यही कारण पाकिस्तानलाई डेढ सयदेखि दुई सय अर्ब डलर घाटा भएको उनले बताए ।
प्रधानमन्त्री इमरानले भने, ‘मेरो विचारमा पाकिस्तान सरकारले त्यो बाचा गर्नु हुँदैनथ्यो, जुन उसले पुरा गर्न सक्दैन । उसले गरोस् पनि कसरी ? त्यो गुट जुन पाकिस्तानी सेना नजिक थियो, अब सेनाले त्यसलाई नै नष्ट गर्ने कोशिस गरिरहेको छ ।’ कार्यक्रममा इमरान खानलाई ओसामा विन लादेन पाकिस्तानमा भेटिएको विषयमा पनि प्रश्न सोधिएको थियो । जवाफमा उनले पाकिस्तानी सेना र खुफिया एजेन्सी आईएसआई र अदकायदाको सम्बन्धको दाबी गरे । उनले भने, ‘पाकिस्तानी सेना, आईएसआईले अलकायदा र अरु मानिसहरुलाई अफगानिस्तानमा लड्न ट्रेनिङ दिएका थिए भने उनीहरुबीच सधै सम्बन्ध हुन्थ्यो । किनकी उनीहरुले नै ट्रेनिङ दिएका थिए ।’





