सगरमाथा क्षेत्रको चार हजार मिटरभन्दा बढी उचाइमा गल्फ प्रतियोगिता हुँदै


७ आश्विन २०७६, मंगलवार १५:५७ मा प्रकाशित

काठमाडौं । तेस्रो संस्करणको एनसेल प्रिजेन्ट बाह्रखरी एभरेस्ट गल्फ प्रतियोगिता सरगरमाथा क्षेत्रमा हुने भएको छ ।

बाह्रखरी मिडिया प्रालिले आयोजना गर्दै आएको गल्फ प्रतियोगिताका लागि यस वर्ष सगरमाथा क्षेत्रलाई छनोट गरिएको हो । आगामी अक्टोबरमा हुने प्रतियोगिता नेपालमै पहिलो पटक चार हजार मिटरभन्दा माथि खेलिने गल्फ प्रतियोगिता हुनेछ । दुई चरणमा हुने प्रतियोगिता अक्टोबर २० मा चार हजार २ सय ५० मिटर उचाइमा रहेको कोङ्दे रीमा पहिलो चरणको खेल हुनेछ । यस चरणमा ४० भन्दा बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् । यस्तै, दोस्रो चरण अक्टोबर २६ मा काठमाडौंको गोकर्ण सफारी रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् । यस दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् ।

प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने आयोजकले अपेक्षा राखेको छ । नेपाल पर्यटन बोर्ड तथा नेपाल भ्रमण वर्ष २०२० को सहकार्यमा प्रतियोगिता हुने जानकारी गराइएको छ । गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे रीमा वान होल गल्फ कोर्स तयार भइरहेको छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको यस प्रतियोगितामा भारत, चीन, अमेरिका, सिङ्गापुर, श्रीलङ्का, हङकङ, बेलायतलगायतका मुलुकबाट पत्रकार आमन्त्रित गरिएको आयोजकले बताएको छ ।

४० भन्दा बढी खेलाडी, १५ राष्ट्रिय–अन्तर्राष्ट्रिय पत्रकार तथा केही अन्तर्राष्ट्रिय खेलाडीका साथै विशिष्ट व्यक्तिलाई हवाईजहाज र हेलिकप्टरमा लुक्ला हुँदै कोङ्दे लाने योजना छ । प्रतियोगितालाई भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेशनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज यसका पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैंक प्रतियोगिताको बैङ्किङ पार्टनर तथा टाटा मोटर्स एच फाइभ भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here