पाकिस्तान । भारतसँग तनाव नबढाउन केही इस्लामिक देशहरूले दिएको सल्लाह पाकिस्तानले अस्वीकार गरेको छ ।
ती देशहरुले प्रत्यक्ष नभइ अन्य माध्यममार्फत भारतसँग वार्ता गर्न सुझाएका थिए । पाकिस्तानी पत्रिका एक्सप्रेसका अनुसार, केही दिनअघि साउदीका उपविदेशमन्त्री र युएईका उपविदेशमन्त्री आ–आफ्नो देशको सन्देश बोकेर इस्लामावाद पुगेका थिए । उनीहरूले कश्मीरमाथिको प्रतिबन्ध फुकाउन भारतलाई मनाउने प्रतिबद्धता जनाए पनि पाकिस्तानले ‘कश्मीरको विशेष दर्जा बहाल हुनुपर्ने’ अड्डी छोडेन । ती देशहरुले प्रधानमन्त्री इमरान खानलाई आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीप्रति ज्यादा आक्रमक नहुन पनि सुझाएका थिए ।
केही नरम भाषाको प्रयोग गर्न र मोदीलाई हिटलर भनी सम्बोधन नगर्न गरिएको अनुरोधलाई इमरानले सुनेको नसुन्यै गरे । ती देशहरूलाई पाकिस्तानले प्रष्ट शब्दमा भनेको छ, ‘भारतसँग तबसम्म कुनै पनि प्रकारको वार्ता हुँदैन, जबसम्म कश्मीरको स्थिति पूर्ववत् अवस्थामा फर्कँदैन ।’ पाकिस्तानी प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेशी अहिले साताव्यापी अमेरिका भ्रमणमा छन् ।
इमरानले सोमबार राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नेछन् भने साताको अन्त्यमा संयुक्त राष्ट्रसंघको साधारण सभालाई सम्बोधन गर्ने कार्यतालिका छ । इमरानले अमेरिका जानुअगावै राष्ट्रसंघको बैठकमा कश्मीर मुद्दा उठाउने घोषणा गरेका थिए ।





