काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच औपचारिक रूपमा एकता भएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमका बीच दुई पार्टीबिच एकताको सहमति भएको घोषणा गर्नुभएको हो ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गर्नुभयो । उहाँले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ । अध्यक्ष घिसिङकाअनुसार अहिले अन्य धेरै राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरू उज्यालो नेपाल पार्टीमा समाहित हुने क्रममा हुनुहुन्छ ।
एकता प्रक्रियामा सहभागी भएकाहरूलाई बधाई दिँदै घिसिङले पार्टीको भावी योजना र सहमतिका विस्तृत विषयमा दुवै पार्टीका महासचिवहरूले थप स्पष्ट पार्ने बताउनु भयो ।






