जलवायु परिवर्तनका कारण हिमालहरू संकटमाः पर्यटनमन्त्री पौडेल


१५ जेष्ठ २०८३, शुक्रबार १०:३९ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । 


७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । विश्वव्यापी तापमान वृद्धिका कारण हिमतालहरू पग्लिने र खानेपानीका मुहानहरू सुक्ने क्रम बढेको बताउँदै उहाँले हिमालको सुरक्षामा विश्वको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको समृद्धिको प्रमुख आधार पर्यटन र हिमाल नै भएको उल्लेख गर्दै मन्त्री पौडेलले राष्ट्रिय स्वाभिमान र गरिबी निवारणका लागि हिमाली पर्यटनको दिगो विकास आवश्यक रहेको बताउनु भयो । सगरमाथा आरोहण केवल भौतिक उपलब्धि मात्र नभइ आन्तरिक यात्रा र मानवीय शाहसको उच्चतम प्रतिक भएको बताउनु भयो । 


सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरण गर्दै मन्त्री पौडेलले हिमाल आरोहणलाई एउटा गहिरो साधना भएको बताउनु भयो । मन्त्री पौडेलले संसारका सबै धर्ममा तीर्थाटनको विशेष महत्व रहेको उल्लेख गर्दै हिमाल आरोहणलाई पनि एक प्रकारको पवित्र धार्मिक यात्राको संज्ञा दिनुभयो । 

उहाँले नेपाललाई विश्वमा चिनाउने सबैभन्दा सशक्त माध्यम हिमाल नै भएको दाबी समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here