काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्री पद सम्हालेपछि सानातिना गुनासो गर्ने ठाउँ नरहने भन्दै आफू मन्त्रालयमै केन्द्रित भएर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेको बताउनुभएको छ ।
मंगलवार अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले पदभार ग्रहण गरेको करिव ३० दिनमै आफूले ३ सय वटा जति निर्णय गरिसकेको जानकारी दिनुभयो । व्यस्त कार्यतालिकाका बीच पनि सांसदहरूका कुरा सुन्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले छोटो समय भएपनि भेटघाट र छलफललाई निरन्तरता दिएको बताउनु भयो ।
अर्थमन्त्री वाग्लेले मन्त्रालयको कामलाई प्राथमिकतामा राख्न आफूले बाहिरी कार्यक्रम, उद्घाटन, माला–खादा र समारोहमा सहभागी हुने क्रम लगभग बन्द गरेको उल्लेख गर्नुभयो ।
अत्यावश्यक अवस्था, औपचारिक दायित्व वा अन्तर्राष्ट्रिय रूपमा चर्चित व्यक्तिहरू सहभागी कार्यक्रममा मात्रै उपस्थित हुने गरेको उहाँको भनाइ थियो । उहाँले अहिले आफू अधिकांश समय मन्त्रालयमै रहेर काम गरिरहेको उल्लेख गर्दै सांसदहरूबाट सुझाव र सद्भाव दुवै प्राप्त भएको बताउनु भयो ।






