गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार गठनको शुरुवाती चरणमा आशंका र विरोध गर्नेहरू नै अहिले सरकारको काम देखेर विश्वास गर्न थालेको बताउनुभएको छ ।
सार्वजनिक जिम्मेवारीमा रहँदा शंका र विश्वास दुवै हुनु स्वाभाविक रहेको बताउँदै उहाँले शंका गर्नेहरूसँगै निरन्तर संवादमा रहेर उनीहरूलाई विश्वासमा लिन सरकार सफल भएको दाबी गर्नुभएको हो ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरूमा सबै दलका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूले देखाएको सद्भाव र सहयोगले सरकारको मनोबल उच्च बनाएको बताउनु भयो । देशले ठूलो हिंसा र राष्ट्र नै जोखिममा पर्ने अवस्था देखिसकेको सन्दर्भ उल्लेख गर्दै मन्त्री अर्यालले देशलाई त्यो दुष्चक्रबाट रोक्न र स्थितिलाई सामान्यीकरण गर्न सबैको विधिको शासन र कानूनी राज्यको पुनर्बहालीका लागि निर्वाचन अपरिहार्य हो भन्ने चाहना रहेको र सरकार त्यसमा सफल भएको बताउनु भयो ।
निर्वाचन सम्पन्न भइसकेपछि संविधानको पूर्ण पुनर्बहाली हुने, संवैधानिक अङ्गहरू सुचारु हुने र त्यसपछि सुशासन, सेवा प्रवाह र समृद्धिको बाटो खुल्ने विश्वास गृहमन्त्री अर्यालले व्यक्त गर्नुभयो ।






