काठमाडौं । काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।
बिहानैदेखि सवारीसाधन कुर्दा पनि टिकट नपाएको र ‘रिजर्भ’ गाडीले सर्वसाधारण नबोकेको उनीहरुले गुनासो गरेका हुन् । ओखलढुंगाका कुलबहादुर थापाले विद्यालयमा कार्यरत रहेकाले ढिलो बिदा पाएको र व्यक्तिगत सवारी साधन नभएकाले सार्वजनिक यातायातकै भर पर्नुपरेको बताउनु भयो ।
उहाँले बुधवार बिहानैबाट ओखलढुंगा जान गाडी कुरेपनि नपाएको बताउनु भयो । उहाँकाअनुसार अधिकांश गाडीमा ‘रिजर्भ’ लेखिएको छ र ती गाडीले सर्वसाधारण बोक्न मानेका छैनन् । बस काउन्टरमा जाँदा दल र उनीहरुका नेतासँग सम्पर्क गर्नुस्, टिकट पाइँदैन भनेर आफूलाई पठाएको र अब भोट हाल्न जान नपाइने अवस्था आएको थापाले गुनासो गर्नुभयो ।
कास्कीका दिलिप महतले पनि राजनीतिक दलहरूले आफ्ना समर्थकलाई प्राथमिकता दिएर गाडी रिजर्भ गरेर लैजाँदा समस्या भइरहेको बताउनु भयो । उहाँकाअनुसार त्यसरी भोट हाल्न जानेहरुले पनि धेरै दुःख पाइरहेका छन् ।
दलहरुले सबैजसो गाडी रिजर्भ गर्दा भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेलाई मात्रै गाडी पठाएर लगिरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार सर्वसाधारणले सवारी नपाउँदा कतिपय मतदाता मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ ।
रामेछापका कुमार बस्नेतले भने सिट नपाएपनि गाडी भने पाइएको बताउनु भयो । राजनीतिक दलका नेताहरुले रिजर्भका गाडीमा जानुपर्छ भने पनि आफूले अस्वीकार गरेको बताउनु भयो । बिना टिकट पनि गाडी पाइएको र आफू भोट हाल्न गाउँ जान लागेको उहाँले सुनाउनु भयो ।
सरोकारवालाहरुकाअनुसार निर्वाचनको मुखैमा सार्वजनिक यातायात व्यवस्थापन र दलहरूको संलग्नताबारे उठेका यी गुनासोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ । सर्वसाधारण मतदाताले सहज रूपमा मतदान केन्द्रसम्म पुग्न पाउने अधिकार सुनिश्चित गर्न यातायात व्यवस्थापन पारदर्शी हुन जरुरी छ ।






