आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक


२० फाल्गुन २०८२, बुधबार ११:१६ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि संघीय राजधानी काठमाडौंबाट आफ्नो गृहजिल्ला फर्किने नागरिकहरुको क्रम तिब्र रुपमा बढेको छ ।

अहिले काठमाडौंका बसपार्कहरुमा यात्रुहरुको बाक्लो भीड देख्न सकिन्छ । रोजगारी, अध्ययन र अन्य विभिन्न सिलसिलामा काठमाडौं उपत्यकामा बसोवास गर्दै आएका मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किन थालेका हुन् ।

नयाँ बसपार्क (गोंगबु), कलंकी, कोटेश्वर र बल्खु लगायतका स्थानमा बिहानैदेखि यात्रुहरुको घुइँचो लागेको छ । विशेषगरी लामो दूरीका सवारी साधनहरुमा टिकट पाउन मुस्किल पर्न थालेको यात्रुहरुले गुनासो गरेका छन् । यातायात व्यवसायीहरुकाअनुसार पछिल्लो केही दिनयता उपत्यका बाहिरिने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

यात्रुको चापलाई मध्यनजर गर्दै यातायात व्यवसायी समितिहरुले थप बसहरुको व्यवस्थापन गर्ने प्रयास गरिरहेको बताएका छन् । यद्यपि, मागको तुलनामा सवारी साधन अपुग हुँदा कतिपय यात्रुहरुले महँगो भाडा तिरेर वा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको अवस्था पनि छ । 


ट्राफिक प्रहरीले पनि उपत्यका बाहिरिने नाकाहरुमा सुरक्षा जाँच कडा पारेको छ भने यात्रुहरुको सहजताका लागि विभिन्न स्थानमा नागरिक सहायता कक्षहरु स्थापना गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने र तोकिएभन्दा बढी भाडा असुल्ने सवारी साधनलाई कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चेतावनी दिएको छ । 


निर्वाचन आयोगले सबै मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरिरहेको बेला नागरिकहरुमा उत्साह देखिएको छ । गाउँ–गाउँमा चुनावी चहलपहल बढेसँगै उम्मेदवारहरु पनि मतदाता फकाउन अन्तिम कसरतमा जुटेका छन् ।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सरकारले बुधवार राति १२ बजेबाट अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । १२ अघि नै गन्तव्यमा पुगिसक्न आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here