काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरु उभिएको बताउनुभएको छ ।
बुधवार राजधानीमा आयोजिक कार्यक्रममा उहाँले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरु आएको बताउनुभएको हो । उहाँले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताउनु भयो ।
त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको उहाँको भनाई छ । उहाँकाअनुसार विगत १०–१२ वर्षमा जति विकास हुनुपथ्र्यो, त्यो हुन सकेन । तर अबका पाँच वर्ष खेर जान नदिने उहाँले प्रतिवद्धता जनाउनु भयो । सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने बताउनु भयो ।
देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उहाँको भनाई छ । उहाँकाअनुसार राजनीतिक दलहरुसंग विमति हुन्छन्, प्रतिष्पर्धा हुन्छ तर देश बनाउन सबै दल चाहिन्छन् ।
उहाँले देशमा रहेका सबै राजनितिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको र त्यो भुमिका नेपाली काँग्रेसले निर्वाह गर्ने दाबी गर्नुभयो । आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न नसक्ने उहाँको भनाई छ ।
उहाँले हालको प्रमुख चुनौती देशलाई पपुलिजमबाट जोगाउनु रहेको उहाँले बताउनुभयो । परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिज्मको लहरमा परेको उल्लेख गर्दै उहाँले नेपालजस्तो अझै संस्थागत रूपमा बलियो नभइसकेको लोकतन्त्रका लागि यो थप चुनौतीपूर्ण हुने बताउनु भयो ।
उहाँका अनुसार विश्वका एकसेएक परिपक्व डेमोक्रेसीहरू पनि पपुलिज्मको शिकार भएका छन् । तर त्यहाँ संस्थाहरू बलिया भएकाले पपुलिज्म केही महिनामै ढल्ने गरेको उहाँले बताउनुभयो । नेपालमा संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी बोकेर आएमा त्यसको परिणाम गम्भीर हुने उहाँले चेतावनी दिनुभयो ।






