काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विनासर्त अविलम्व रिहा गर्न माग गरेको छ ।
पार्टीको प्रतिनिधिमण्डलले मंगलवार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर यस्तो माग राखेको हो । पार्टीका कार्यसम्पादन समितिका सदस्य निरञ्जन थापाले प्रसाईंको पक्राउ संविधानसम्मत नभएको भन्दै विनाशर्त रिहा गर्न अनुरोध गरेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार नेताहरु गृहमन्त्री अर्याललाई मौलिक हकको प्रयोग गरेकै आधारमा पक्राउ गरी नजरबन्दमा राख्नु उचित नहुने धारणा राखेका थिए । जवाफमा गृहमन्त्री अर्यालले प्रसाईंविरुद्ध प्रहरी अदालत गइसकेको उल्लेख गर्दै अदालतबाटै मुद्दाको टुङ्गो लाग्ने बताएको थापाले जानकारी दिनुभयो ।
निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई प्रहरीले सोमवार पक्राउ गरेको थियो । यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा गत माघ १९ गते प्रसाईंलाई पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशन अनुरुप माघ २५ मा हाजिरी जमानीमा छुटेका थिए । निर्वाचन आयोगका पत्रका आधारमा पक्राउ परेका प्रसाईंमाथि चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।






