काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले देशभरका ७ सय ४९ स्थानिय तहहरुमा फोर–जी सेवाको पहुँच विस्तार भएको बताउनुभएको छ ।
बिहीवार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवमा टेलिकम सञ्चालक समितिकी अध्यक्ष समेत रहुनभएको बस्नेतले डिजिटल डिभाइड न्युनिकरणमा उल्लेखनीय प्रगति हासिल गरिएको बताउनुभएको हो । नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसाथ गर्दै टेलिकमले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको उहाँको भनाई छ ।
प्रविधिमा भइरहेको विश्वव्यापी द्रुत परिवर्तनसँगै सेवाग्राहीको माग र चाहना बढ्दै गएको उहाँले बताउनु भयो । उहाँकाअनुसार प्रायः सबै शहर तथा गाउँमा ‘फाइबर टु द होम’ सेवा विस्तार भएसँगै उच्च गतिको ब्रोडब्यान्ड सेवा सर्वसाधारणको पहुँचमा पुगेको छ ।
देशको प्रमुख दूरसञ्चार सेवा प्रदायकका रूपमा टेलिकमले कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेशनजस्ता सेवाको विकासमा ध्यान दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
विशेषगरी दुर्गम क्षेत्रमा ई–डिजिटल सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण जरुरी रहेको सचिव बस्नेतको भनाइ छ । यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै मुलुकको डिजिटलाइजेसन अभियानलाई थप गति दिने उहाँले बताउनु भयो ।
टेलिकमले सेवाको गुणस्तर र सर्वसुलभता अझै वृद्धि गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रत्येक नेपाली बसोबास गर्ने स्थानमा वायरलेस र वायरलाइन दुवै प्रकारका दूरसञ्चार सेवाको पहुँच पु¥याउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले टेलिकममा रहेका कर्मचारीहरुको वृत्तिविकास र अन्य मागहरु सम्बोधन गर्न मन्त्रालय तयार रहेको पनि जानकारी दिनुभयो ।






