काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले मुलुकको कार्यकारी प्रमुख राष्ट्रपति हुनुपर्ने प्रश्तावसहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलनगरी सो पार्टीका महासचिव विप्लवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने व्यवस्थामा जोड दिएर आफ्नो पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको बताउनुभएको हो । घोषणा पत्रमा प्रतिनिधि सभा पूर्ण सभानुपातिक हुनुपर्ने र सरकारमा विज्ञहरुको सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ ।
महासचिव विप्लवले प्रतिनिधि सभामा सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व गराउनेगरी पूर्णसमानुपातिक हुनुपर्ने प्रश्ताव गरिएको बताउनु भयो । उहाँले सरकारमा विज्ञहरुको उपस्थितिलाई बलियो बनाउने कुरालाई घोषणा पत्रमा प्राथमिकता दिइएको बताउनु भयो ।
घोषणा पत्रमा युवाहरुको विदेश पलायनलाई रोक्नका लागि देशभित्रै रोजगारीको अवस्था सृजना गर्ने, भारतसँग गरिएको कुनैपनि खालका असमान सन्धि सम्झौता खारेज गर्ने लगायतका बुदा समावेश गरिएका छन् ।
महासचिव विप्लवले आर्थिक क्षेत्रको विकासका लागि आम जनतालाई उत्पादनमा जोडनेगरी काम गर्नुपर्ने प्रतिवद्धता पनि आफूहरुको रहेको बताउनु भयो । संविधान पुनर्लेखनको विषयलाई घोषणा पत्रमा उल्लेख गरिएको छ ।






