काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एकमात्र उपाय निष्पक्ष निर्वाचन भएको बताउनुभएको छ ।
मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले सबै राजनितिक दलहरुको चाहाना अनुरुप नै देश निर्वाचनमा होमिएको बताउनु भयो । निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरूले भने अन्तिम समयमा जिम्मेवारी छाडेर भागेको उहाँले आरोप लगाउनु भयो ।
निर्वाचन गर्ने जिम्मेवारीलाई छाडेर आफैँ चुनावी मैदानमा होमिनुले गम्भीर नैतिक प्रश्न उठाएको उहाँको भनाई छ । उहाँले मन्त्रीहरू नै पदबाट हटेर चुनाव लड्न हिँड्नुले निष्पक्ष चुनाव हुनेमा शंका पैदा भएको पनि बताउनु भयो । राजीनामा दिएर निर्वाचन लड्न पाउने संवैधानिक अधिकार भएपनि यसले गम्भीर नैतिक प्रश्न भने उठाएको उहाँको भनाई छ ।
उहाँले मन्त्री बनेकाहरु नै विभिन्न पार्टी प्रवेश गर्ने तथा आफ्नै पार्टी खोलेर चुनावी प्रतिस्पर्धामा होमिनुले जेन–जी आन्दोलन, सरकारी संयन्त्रमाथीको आगजानी लगायतका घटनाक्रमका ‘पर्दा’हरु विस्तारै खुल्न थालेको बताउनु भयो ।






