सर्वसाधारणको नाम दुरुपयोग गरी ठगी गर्ने संगठित गिरोह पक्राउ


१६ पुष २०८२, बुधबार १९:१४ मा प्रकाशित

काठमाडौं । सर्वसाधारणको नाम दुरुपयोग गरी अनधिकृत रूपमा डिजिटल वालेट सञ्चालन गर्दै ठगी गर्ने संगठित गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका व्यक्तिहरूले आफन्तका नाममा पठाएको रेमिट्यान्स झिक्न आएका सेवाग्राही महिलालाई लक्षित गरी ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीकाअनुसार रेमिट्यान्स झिक्न थप कागजात आवश्यक पर्ने बहानामा सेवाग्राहीको फोटो र नागरिकताको प्रतिलिपी संकलन गरी त्यसको दुरुपयोग गरिएको थियो । संकलित विवरण प्रयोग गरी अनधिकृत रूपमा डिजिटल वालेट तथा एकाउन्ट खोल्ने र ती एकाउन्टहरू ठगी गर्ने समूहलाई विक्री–वितरण गरिएको थियो ।

सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले सुक्ष्म अनुसन्धानपछि धनुषा जिल्लाका विभिन्न स्थानबाट गिरोहका मुख्य सदस्यसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो । 


पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–९ धारापानी चौकस्थित ‘मामा भान्जा ट्रेडर्स’ (रेमिट्यान्स काउन्टर) का सञ्चालक विनोद भन्ने विशाल भुजेल, दीपशिखा मोबाइल पसलका सञ्चालक सन्तोष मण्डल, धनौजी गाउँपालिका–२ का साधु राम, जनकपुरधामको शिवचोकमा डेरा गरी बस्ने बलराम मण्डल, धनौजी–२ का रूपेश कुमार साह र निक्की कुमार राम रहेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here