नवनिर्वाचित राष्ट्रिय सभाका सांसदहरुले मुलुकमा संघीयता र समावेशीतालाई मजबुत बनाउने गरी आफूहरुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सोमवार राष्ट्रिय सभा सदस्य पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्दै नेपाली काँग्रेसका सांसद सुनिल थापा, नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्री र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद महन्थ ठाकुरले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
काँग्रेस सांसद थापाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति मुलुकको मुख्य एजेण्डा भएको उल्लेख गर्दै सोही अनुसारको कानून निर्माणमा आफूहरु केन्द्रित हुने बताउनु भयो । उहाँले संसदलाई अझै क्रियाशील बनाउने र मुलुकलाई निकास दिनेखालको कानून निर्माणमा आफूहरु लागिपर्ने समेत बताउनु भयो ।
एमालेकी सांसद एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले मुलुकलाई निकास दिनका लागि आफूले सावधानीपूर्वक काम गर्ने बताउनु भयो । उहाँले सांसदहरुले आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्नुपर्ने भएकाले आफू सोही अनुसार अघि बढने समेत बताउनु भयो ।
सांसद ठाकुरले भने सांसदहरुको काम विकास, निर्माण नभएकाले सो प्रश्न सोधेर हैरान पार्ने काम नगर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । उहाँले सांसदको रुपमा आफूले पाएको जिम्मेवारी इमानका साथ पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभामा हाल १८ जना सांसदहरु निर्वाचित हुनुभएको छ ।






