नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?


२५ फाल्गुन २०८२, सोमबार १७:०३ मा प्रकाशित

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमवार निर्वाचित सदस्यहरुलाई शपथ गराउनुभएको हो । 
गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट १८ जना सदस्य निर्वाचित हुनुभएको थियो ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार फागुन २० गते १९ जना सदस्यको कार्यकाल सकिएको हो । १९ जनामध्ये १८ जना सदस्यको माघ ११ गते निर्वाचन भएको हो । एक जना सदस्यलाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नुहुनेछ । राष्ट्रियसभा सदस्यमा नेपाली काँग्रेसका ९ जना, नेकपा एमालेका ८ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक जना सदस्य निर्वाचित हुनुभएको छ । 
राष्ट्रियसभा सदस्य को कस्ता ? 
महन्थ ठाकुर 
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले पटक पटक प्रतिनिधि सभा सदस्य भएर काम गरिसक्नुभएको छ । नेपाली काँग्रेसबाट राजनिति शूरु गर्नुभएका ठाकुर काँग्रेसको कोषाध्यक्ष समेत बन्नुभएको थियो । तर उहाँ २०६२÷६३ मा भएको मधेश आन्दोलनमा काँग्रेस छाडेर मधेशकेन्द्रित राजनितिमा लाग्नुभएको हो । ठाकुर २०४८ सालमै काँग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जितेर उपसभामुख बन्नुभएको थियो । उहाँ २०५१, २०६४, २०७०, २०७४ र २०७९ मा उम्मेद्वार बन्नुभएको थियो । उहाँ २०६४ र २०७० को निर्वाचनमा भने पराजित हुनुभयो । 
सुनिलबहादुर थापा
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्विरोध निर्वाचित हुनुभएको सुनीलबहादुर थापा राष्ट्रिय सभा सदस्य हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राजनितिक सल्लाहकार हुनुहुन्थ्यो । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हेमराज घिमिरे उम्मेद्वार दर्ता गर्न समयमै निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन नसकेपछि थापा निर्विरोध निर्वाचित हुनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनिति शुरु गर्नुभएको थापा हाल नेपाली काँग्रेसमा हुनुहुन्छ । थापाले यसअघि संविधानसभा सदस्य र मन्त्री भएर काम गर्नुभएको छ । २०७० सालमा धनकुटा क्षेत्र नम्बर–२ बाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएपछि उहाँ २०७४ साल जेठमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुभएको थियो । २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ ।
रामकुमारी झाँक्री 
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको रामकुमारी झाँक्री प्रतिनिधि सभाकी पूर्वसदस्य तथा पुर्वमन्त्री हुनुहुन्छ । नेकपा एमालेले २०७४ मा झाँक्रीलाई समानुपातिक सांसद बनाएको थियो । पछि उनी एमाले विभाजन हुँदा माधवकुमार नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लाग्नुभएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाँ शहरी विकास मन्त्री समेत बन्नुभयो । २०७९ को प्रतिनिधि सभा सदस्यको चुनावमा एकिकृत समाजबादी बाट नै प्रत्यक्ष निर्वाचन लड्नुभएको उहाँले पराजय भोग्नुप¥यो । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी लगायतको पार्टी एकीकरणप्रति विमति जनाउँदै एमालेमा फर्किनुभएको झाँक्रीलाई एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बनाएको हो । उहाँ हाल एमालेको केन्द्रिय सदस्य समेत हुनुहुन्छ । झाँक्री एमालेको भ्रातृसंस्था अनेरास्ववियुको पूर्वअध्यक्ष समेत हुनुहुन्छ । 
ललितजंग शाही 
नेपाली काँग्रेसको तर्फवाट कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाहीले संविधान सभा सदस्यको रुपमा काम गरिसक्नुभएको छ । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा जुम्लाबाट उहाँ निर्वाचित हुनुभएको थियो । २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएपनि उहाँलाई नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको हो । शाही नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापति समेत हुनुहुन्छ । शाही २०५१ र २०५६ सालमा काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वार बन्नुभएको थियो  भने २०७० सालको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेर चुनाव जित्नुभएको थियो ।  
रोशनी मेचे
रोशनी मेचेलाई नेकपा एमालेले कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । उहाँ सीमान्तकृत मेचे समुदायकी हुनुहुन्छ । रोशनीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा बसेर काम गर्नुभएको थियो । मेचेले समाजशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नुभएको छ । 
धमेन्द्र पासवान
मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको धमेन्द्र पासवान दलित अधिकारकर्मी हुनुहुन्छ । उहाँलाई नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको हो । काँग्रेसको भ्रातृसंस्था नेपाल दलित संघको महासचिव भएर काम गरिसक्नुभएका रौतहट निवासी पासवानले राजनीति शास्त्रमा स्नातकसम्म अध्ययन गर्नुभएको छ । 
रञ्जित कर्ण 
मधेस प्रदेशबाट नै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको रन्जित कर्ण नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रिय अध्यक्ष हुनुहुन्छ । उहाँले २०७० सालको संविधानसभा सदस्य भएर पनि काम गर्नुभएको छ । विद्यार्थीकालदेखि नै कांग्रेसमा सक्रिय नेता कर्ण ईन्जिनियर समेत हुनुहुन्छ । 
रेखा झा 
रेखा झालाई नेकपा एमालेले मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । नेकपा एमालेको मधेस प्रदेशकी सदस्य झालाई दुईपटक एमालेले समानुपातिक सूचीमा राखेको थियो । समानुपातिकबाट सांसद बन्न असफल झा राष्ट्रिय सभा सदस्य बन्न सफल हुनुभएको छ । झाले अर्थशास्त्र र सामाजिक शास्त्रमा स्नातक गर्नुभएको छ । उहाँले विगतमा मानवअधिकार एलायन्समा आवद्ध भई अधिकार र न्यायका पक्षमा काम गर्दै आउनुभएको छ । 
सोम पोर्तेल 
दलित कलस्टर अन्तर्गत कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको सोम पोर्तेलसँग जिल्ला समन्वय समिति सभापति भएर काम गरेको अनुभव छ । पोर्तेलले नेकपा एमालेको वडा कमिटीबाटै राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०३५ साल फागुनमा जन्मिएका पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव पनि छ । उहाँ २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुख हुनुहुन्थ्यो । 
डा. प्रेम दंगाल
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको डा. प्रेम दंगाल एमालेका केन्द्रिय सदस्य हुनुहुन्छ । उहाँले त्रिभूवन विश्वविद्यालयबाट ‘ग्रामीण अर्थतन्त्र र खाद्य सम्प्रभुता’ विषयमा विद्यावारिधि गर्नुभएको छ । लामो समयदेखि अखिल नेपाल किसान महासङ्घमा उहाँ हाल महासङ्घको केन्द्रिय अध्यक्ष हुनुहुन्छ । 
गीता देवकोटा
गीता देवकोटालाई नेपाली काँग्रेसले वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । २०४४ सालबाट नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिकमा प्रवेश गर्नुभएको देवकोटा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य हुनुभएको थियो । उहाँ मौरीपालक किसान महासंघका उपाध्यक्ष समेत हुनुहुन्छ । 
जगत तिमिल्सिना
त्रिभूवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत जगत तिमिल्सिनालाई नेपाली काँग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । उहाँ २०७३ सालदेखि काँग्रेस समर्थित प्रजातान्त्रिक प्राध्यापक संघको अध्यक्ष समेत हुनुहुन्छ । 
सम्झना देवकोटा 
लगातार तीन वटा निर्वाचनमा पराजय भोग्नुभएकी एमालेकी सम्झना देवकोटा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको छ । यसअघि उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकाबाट उपमेयर र २०७९ को निर्वाचनमा सोही नगरपालिकामा मेयरको उम्मेदवार बन्नुभएको थियो । तर दुबै निर्वाचनमा उहाँ पराजित हुनुभएको । २०८० माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि देवकोटालाइ एमालेले उम्मेदवार बनाएको थियो तर त्यसपटक पनि उहाँले जित्न सक्नुभएन । तर २०८२ सालमा भएको काँग्रेस एमालेको गठबन्धनले उहाँलाई निर्वाचन जित्न सहज बनाईदिएको हो । 
मिना रखाल
कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको मिना रखाल एमालेकी नेतृ हुनुहुन्छ । दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य हुनुभएको थियो । 
चन्द्रबहादुर केसी 
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चन्द्रबहादुर केसी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाड गाउँका स्थायी बासिन्दा हुन् । बहुदलीय व्यवस्थाको उदयपछि गुल्मीको राजनीतिमा चन्द्र केसी चर्चित हुनुभएको हो । २०५६ सालमा गुल्मीको साविक निर्वाचन क्षेत्र नम्बर २ बाट र २०७४ सालमा हालको क्षेत्र नम्बर २ बाट उहाँ प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बन्नुभएको थियो । तर उहाँ पराजित हुनुभयो । केसी २०४९ सालमा जिल्ला विकास समिति गुल्मीको सभापति तथा २०६७ सालमा नेपाली काँग्रेस गुल्मीको पार्टी सभापति हुनुभएको थियो । उहाँले २०२९ सालमा नेपाल विद्यार्थी संघबाट राजनिति शुरु गर्नुभएको हो । 
वासुदेव जंगली
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हनुभएको वासुदेव जंगली नेपाली काँग्रेसको पुराना नेता हुनुहुन्छ । दाङ जिल्लाका जंगलीलाई नेपाली काँग्रेसले अपांग कोटाबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । 
खम्मबहादुर खाती
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य हुनुभएको खम्मबहादुर खाती नेपाल बार एशोसिएशनका पूर्वमहासचिव र पूर्वमहान्यायाधिवक्ता हुनुहुन्छ । उहाँले नेपाली काँग्रेसका पुर्व पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएर काम गर्नुभएको थियो । वरिष्ठ अधिवक्ता समेत रहुनुभएका खाती २०४८ सालदेखि निरन्तर वकालत पेसामा सक्रिय हुनुभयो । उहाँले काठमाडौँ जिल्ला बार एशोसियसनको नेतृत्वदेखि २०७२ सालमा नेपाल बार एशोसियसनको महासचिव बनेर काम गर्नुभएको छ । उहाँ २०५३ सालको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो । 
लीलाकुमारी भण्डारी
लीला भण्डारी सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको हो । उहाँ २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित संविधान सभा हुनुभएको थियो तर २०७० सालमा भने पराजित हुनुभयो । 
राष्ट्रिय सभा सदस्यमा निर्वाचिनको लागी नेपाली काँग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका थिए भने नेपाली कम्युनिष्ट पार्टी एक्लै सहभागी भएको थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका थिए । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट शुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here